कलैया, २२ चैत । नेपाल प्रहरीले पछिल्लो चार दिनमा देशभर चलाएको विशेष खोजी अभियानका क्रममा २२६ जनालाई पक्राउ गरेको छ।
गुण्डागर्दी, बिचौलिया गतिविधि र सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्नेहरूलाई लक्षित गरी चैत १८ देखि २१ गतेसम्म सञ्चालित यस अभियानमा ठुलो संख्यामा व्यक्तिहरू नियन्त्रणमा परेका हुन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार पक्राउ परेका सबैमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको छ।
प्रहरीको तथ्याङ्कअनुसार अभियानको पहिलो दिन चैत १८ गते काठमाडौँ उपत्यका र कोशी प्रदेशबाट गरी ६९ जना पक्राउ परेका थिए। दोस्रो दिन १९ गते कोशीबाट एक जना, मधेसबाट ७, बागमतीबाट २३ , गण्डकीबाट दुई र कर्णाली प्रदेशबाट ११ जना गरी ४४ जना समातिए भने २० गते मधेसबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट ४ र सुदूरपश्चिमबाट दुई गरी २४ जना पक्राउ परे। अभियानको चौथो दिन २१ गते काठमाडौँ उपत्यकाबाट मात्रै ६२ जनालाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ पर्नेहरूमा विशेषगरी यातायात तथा मालपोत कार्यालय जस्ता सार्वजनिक सेवा प्रवाह हुने स्थानमा सेवाग्राहीलाई दुःख दिने बिचौलियाहरू र समाजमा भय सिर्जना गर्ने गुण्डाहरू रहेका छन्। प्रहरीले नागरिकको सुरक्षा र सार्वजनिक व्यवस्थालाई चुस्त राख्न यो खोजी अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।





