कलैया, २५ चैत। बाराको फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमको बोलपत्र आह्वानसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले ३ जनालाई ३ महिना कैद र जरिवाना गरेको छ।
अदालतले गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि र सो संस्थाका प्रबन्ध निर्देशक नवराज निरौलालाई दोषी ठहर गरेको छ । न्यायाधीशहरु नारायाण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले दोषी ठहर गरेको हो। मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ।
मुख्य कसुरदार ठहरिएका गौरी शंकर कुमार सिंहलाई अदालतले ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना गर्ने फैसला गरेको छ । त्यस्तै मतियारको भूमिकामा रहेका नेपाल मिडिया हाउस प्रालि र त्यसका प्रबन्ध निर्देशक नवराज निरौलालाई पनि जनही ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना तोकिएको छ ।
यस्तै अदालतले उनीहरू तीनै जनालाई ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ ।
२०७९ साल कार्तिक २० गते ‘सौर्य दैनिक’ पत्रिकामा गाउँपालिका अन्तर्गतको कृषि विद्युतीकरण कार्यक्रमका लागि पोल गाड्ने र तार तान्ने ठेक्काको बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशित भएको भनी झुट्टा बिल र भरपाई तयार पारिएको थियो ।
सोही झुट्टा कागजका आधारमा १ लाख ४२ हजार १६० रुपैयाँ सरकारी रकम भुक्तानी लिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको थियो ।





