Friday, June 5, 2026

संघीय सरकारको निर्णय अवज्ञा गर्दै जीतपुरसिमरा उपमहानगरले थाल्यो भर्ना र पठनपाठन

spot_img

बारा, ०४ चैत । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले संघीय सरकारको निर्णय अवज्ञा गर्दै विद्यार्थी भर्ना अभियान र पठनपाठनको तयारी गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका विद्यालयहरूमा आगामी वैशाख १५ गतेबाट मात्रै भर्ना अभियान सुरु गर्न र वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको भए तापनि उपमहानगरपालिकाले त्यसलाई परिमार्जन गर्दै आफ्नै छुट्टै तालिका सार्वजनिक गरेको हो। केन्द्रको पत्र संख्या २०८२/०८३, च.नं. ६७ अनुसारको निर्णयलाई उपमहानगरले स्थानीय आवश्यकताको तर्क दिँदै हेरफेर गरेको छ।

उपमहानगरपालिकाका नगर प्रमुख स्तरीय निर्णयअनुसार वैशाख १५ सम्म पर्खिँदा विद्यार्थीहरूको पठनपाठनमा अवरोध हुने, पाठ्यक्रम अनुसारको वार्षिक कार्यघण्टा नपुग्ने र शिक्षाको गुणस्तरमा ह्रास आउने दाबी गरिएको छ।

सरोकारवालाहरूबाट विद्यालयमा यथाशीघ्र भर्ना र पठनपाठन सुचारु गर्न अनुरोध भएपछि नगर प्रमुख राजन पौडेलको हस्ताक्षरमा जारी गरिएको पत्रमा संघीय सरकारको भन्दा झन्डै एक साता अगाडि नै शैक्षिक गतिविधि सुरु गर्न निर्देशन दिइएको छ।

नयाँ निर्णय अनुसार जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले वैशाख ७ गतेदेखि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नुपर्नेछ। त्यसैगरी, वैशाख १४ गतेदेखि नै विद्यालयहरूमा नियमित पठनपाठन सुचारु गर्न नगरपालिकाले निर्देशन जारी गरेको छ।

संघीय सरकारको कार्यतालिका अनुसार वैशाख २१ मा मात्र कक्षा सुरु हुनुपर्नेमा यहाँका विद्यार्थीहरू एक साता अघि नै विद्यालय जानुपर्ने भएको छ।

यसका साथै उपमहानगरले विद्यालय समय र बिदाको हकमा पनि नयाँ नियम लागू गरेको छ। अबदेखि शुक्रबार पनि विद्यालयहरू पूरा समय (बिहान १०:०० देखि अपराह्न ४:०० सम्म) सञ्चालन गर्नुपर्नेछ। हप्ताको दुई दिन शनिबार र आइतबार भने विद्यालय पूर्ण रूपमा बन्द रहने पत्रमा उल्लेख छ।

केन्द्रको निर्देशन विपरीत स्थानीय तहले गरेको यो निर्णयले शिक्षा क्षेत्रमा संघीय र स्थानीय सरकारबीचको समन्वयमाथि प्रश्न उठाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर