बारा, ०६ वैशाख । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान र पठनपाठनको समयतालिका सार्वजनिक गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै भोलि वैशाख ७ गतेदेखि नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भर्ना अभियान सुरु हुने जानकारी दिएको हो।
नगर प्रमुखको आदेशानुसार जारी गरिएको सूचनामा वैशाख ७ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने उल्लेख छ । भर्ना अभियान सकिएलगत्तै वैशाख १६ गतेदेखि भने सबै विद्यालयहरूमा नियमित रूपमा पठनपाठन सुरु हुनेछ।
विद्यालयहरूले नयाँ भर्नाका साथै विद्यार्थीहरूको अभिलेखीकरण गर्ने, वार्षिक कार्यतालिका र कार्ययोजना निर्माण गर्ने तथा शिक्षक क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ। साथै, प्रत्येक विद्यालयले आफ्नो विद्यालय सुधार योजना (SIP) निर्माणलाई समेत यसै अवधिमा प्राथमिकता दिनुपर्ने उल्लेख छ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा हस्ताक्षरित सो पत्रमार्फत महानगरपालिकाले तोकिएको समयतालिका अनुसार शैक्षिक क्रियाकलाप अगाडि बढाउन सबै विद्यालयहरूलाई अनुरोध गरेको छ।





