बारा, ११ वैशाख । सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँबाट आज पक्राउ गरेको हो ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा संलग्न रही फरार रहँदै आएका परियारलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार परियार विरुद्ध बैंकिङ कसुरको मुद्दामा अनुसन्धान भइरहेको र उनी फरार सूचीमा रहेकाले पक्राउ गरिएको हो।
पक्राउ परेका परियारलाई हिरासतमा राखेर घटनाबारे थप आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।





