बारा, १५ वैशाख । वीरगञ्ज नाका हुँदै विद्युतीय सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि भएको छ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यस नाकाबाट कुल दुई अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।
यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँले बढी हो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत वर्षको यसै अवधिमा जम्मा एक अर्ब ४८ करोड रुपैयाँका विद्युतीय सवारीसाधन आयात भएका थिए। पछिल्लो समय वातावरणमैत्री र किफायती सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढेसँगै आयातमा यस्तो उछाल आएको हो।
सवारीसाधनको वर्गीकरण अनुसार चारपाङ्ग्रे जिप, कार र भ्यानको आयातमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ। चालु आवको नौ महिनामा एक अर्ब ४६ करोड रुपैयाँ बराबरका ४९३ वटा यस्ता सवारीसाधन भित्रिएका छन्, जबकि गत वर्ष यो संख्या १७२ मात्र थियो।
त्यसैगरी, दुईपाङ्ग्रे सवारीतर्फ ९६ करोड रुपैयाँको लागतमा सात हजार ३९८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्, जुन गत वर्षको तुलनामा तीन हजारभन्दा बढी हो। तीन पाङ्ग्रे सवारीको आयात पनि ५३ करोड रुपैयाँ बराबरको चार हजार ६०६ वटा पुगेको छ।




