बारा, २० वैशाख । जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको छ ।
वैशाख ८ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले सरकारी वकिलको दाबी नपुग्ने भन्दै बमजनको पक्षमा फैसला सुनाएको हो ।
उनी विरुद्ध ८ करोड ५९ लाख रुपैयाँ अवैध रूपमा आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरिएको थियो । जसमा उनी यसअघि पुर्पक्षका लागि थुनामा रहेका थिए । अदालतको यो फैसलासँगै बमजनले सम्पत्ति शुद्धीकरणको अभियोगबाट राहत पाएका छन् ।
यद्यपि, बमजन विरुद्धको कानुनी झमेला भने अझै पूर्ण रूपमा सकिएको छैन । उनी विरुद्धको बाल यौन दुरुपयोग सम्बन्धी एक अर्को मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । यसअघि उच्च अदालतबाट सो मुद्दामा सफाइ पाए पनि सरकारी पक्षले उक्त फैसला चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरेको थियो ।





