बारा, २२ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पतालका लागि ठूलो संख्यामा स्वास्थ्य सेवाका कर्मचारीहरू माग गरेको छ।
नगर कार्यपालिकाले आज एक सूचना जारी गर्दै सेवा करारमा पदपूर्ति गर्ने गरी विभिन्न ३० पदहरूका लागि दरखास्त आह्वान गरेको हो।
सूचना अनुसार कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट गाइनोकोलोजिष्ट, मेडिकल अधिकृत, डेन्टल अधिकृत, नर्सिङ स्टाफदेखि एनेस्थेसिया सहायकसम्मका पदहरूका लागि दरखास्त आह्वान गरिएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सक्नेछन्। सहायक तहका लागि १८ वर्ष र अधिकृत तहका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन्।
आवेदन फारम जीतपुरसिमरा नगर अस्पताल, सिमरामा बुझाउन सकिनेछ वा अनलाइनमार्फत कागजातहरू स्क्यान गरी अस्पतालको आधिकारिक इमेलमा पठाउन सकिने व्यवस्था गरिएको छ।
परीक्षाको किसिम लिखित र अन्तर्वार्ता हुनेछ भने पारिश्रमिक र अन्य सुविधाहरू नेपाल सरकारको नियम र उपमहानगरपालिकाको कार्यविधि अनुसार हुने सूचनामा उल्लेख छ।





