बारा, २४ वैशाख । त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको मेनरोड विस्तार गर्ने सरकारको कदमविरुद्ध बिहीबार घरजग्गाधनी र व्यापारीहरूले मानव सांग्लो बनाएर विरोध प्रदर्शन गरेका छन्।
वीरगन्ज बचाउ संघर्ष समितिको अगुवाइमा आदर्शनगरदेखि घण्टाघर चोकसम्म उत्रिएका प्रदर्शनकारीहरूले सडकको दायाँ-बायाँ २५/२५ मिटर भत्काउने कार्यलाई डोजर आतंकको संज्ञा दिँदै तत्काल रोक्न माग गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले वीरगन्जमा दुईवटा बाइपास र ६ लेनको व्यापारिक मार्ग बनिसकेको अवस्थामा मेनरोडलाई राजमार्गको मापदण्डमा विस्तार गर्नु अनावश्यक रहेको तर्क गरेका छन्। उनीहरूले यस क्षेत्रलाई शहरी मार्ग कायम गर्न र मुआब्जा बिना विस्थापित नगर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरे।
यसअघि पनि काठमाडौँको माइतीघर र पर्सा प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका संघर्ष समितिले माग सम्बोधन नभए आन्दोलन अझ सशक्त पार्ने चेतावनी दिएका छन्। यस अघि गत वैशाख ६ र ७ गते सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्ज महानगरपालिकासंगको समन्वयमा राष्ट्रिय राजमार्गको मापदण्ड अनुरूप दायाँ–बायाँ २५/२५ मिटर विस्तारका लागि घरहरुमा डोजर चलाएर भत्काएको थियो ।





