Thursday, June 4, 2026

बारामा लागुऔषध सेवनकर्ता खोजी तथा सुधार अभियान सुरु

spot_img

बारा, २५ वैशाख । बारामा लागुऔषध सेवनकर्ता खोजी तथा सुधार अभियान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराको सामुदायिक प्रहरीको आयोजनामा शुक्रबार कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वामा अभियानको शुभारम्भ गरिएको हो।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनअनुसार “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत सीमावर्ती क्षेत्रमा लागुऔषध परीक्षण केन्द्र स्थापना गर्ने कार्यक्रमसमेत अघि बढाइएको छ। सोही क्रममा मटिअर्वामा लागुऔषध सेवन गरेको आशंका गरिएका व्यक्तिहरूको कीटमार्फत परीक्षण गर्ने कार्य पनि सुरु गरिएको छ।

कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गरेका हुन्। जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले अभियानको स्वागत गर्दै ढिलो भए पनि सही समयमा अभियान सुरु भएको बताए। उनले लागुऔषधसम्बन्धी समस्या समाधानका लागि भवन निर्माण गरी एकीकृत सेवा प्रवाह आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहलाई समन्वय गर्न आग्रह गरे। त्यसैगरी, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने शंकास्पद व्यक्तिहरूको लागुऔषध परीक्षणमा स्थानीयवासीको सहयोग आवश्यक रहेको बताए। उनले आगामी आर्थिक वर्षमा अभियानका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवरले लागुऔषध सेवनकर्तालाई समयमै पहिचान गरी उपचार तथा पुनःस्थापनामा ल्याउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

एसपी कुवरले युवापुस्तामा फैलिँदै गएको लागुऔषध दुरुपयोगले सामाजिक, आर्थिक तथा मानसिक क्षति बढाइरहेको उल्लेख गर्दै यसले अपराध, हिंसा, चोरी, घरेलु कलह तथा अन्य असामाजिक गतिविधि बढाउने खतरा रहेको बताए। उनले सेवनकर्तालाई अपराधी नभई सुधारयोग्य व्यक्तिका रूपमा हेरेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिए।

उनले विद्यालय, कलेज तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि, प्रहरी–समुदाय सहकार्य सुदृढ बनाउने तथा लागुऔषध कारोबार नियन्त्रणलाई प्रभावकारी बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा वडा नं. १० का अध्यक्ष महम्मद साबिर, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सरोज निरौला, प्रस्तावित सीमा सुरक्षा मटिअर्वाका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष अधिकारी, सामुदायिक प्रहरी बाराका सचिव जंगबहादुर यादव, लोकेश सिंह, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा युवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक राजकिशोर पटेलले गरेका थिए।

नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सुरु गरिएको यस अभियानले जिल्लामा आपराधिक गतिविधि नियन्त्रण, सेवा प्रवाहमा पारदर्शिता तथा लागुऔषध नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर