बारा, २८ वैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिद्वारा हुने सम्बोधन स्वीकृत गरिएको जानकारी दिएका छन् ।
आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यसैबीच, सङ्घीय संसद्को दुवै सदनको अधिवेशन पनि आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ।





