बारा, ३० वैशाख । वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक गन्तव्य मुलुकहरू पठाइदिने प्रलोभन देखाएर लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विभिन्न समय र स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा नवलपरासीका शैलेन्द्र पाण्डे, टोखाकी सुमना अर्याल, खोटाङका विकास सुनार, नवलपरासी पूर्वका बासुदेव श्रेष्ठ, पाँचथरका धन बहादुर योङहाङ र नवलपरासी देवचुलीकी नौ माया आले मगर रहेका छन्।
पक्राउ परेकामध्ये शैलेन्द्र पाण्डेले सर्विया र स्लोभाकिया पठाइदिने भन्दै १३ जनाबाट ३५ लाख ७० हजार रूपैयाँ ठगी गरेको पाइएको छ। त्यसैगरी सुमना अर्यालले युएईका लागि २ लाख ८२ हजार, विकास सुनारले स्पेनका लागि १० जनाबाट १० लाख, बासुदेव श्रेष्ठले क्यानडाका लागि ७ लाख ५० हजार, धन बहादुरले दक्षिण कोरियाका लागि २ लाख र नौ मायाले साइप्रसका लागि ६ लाख ४ हजार ५ सय रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएको उजुरी परेको थियो।
प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थान र नवलपरासीबाट पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको छ। पक्राउ परेकामध्ये नौ माया आले मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने अन्य पाँच जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।





