Thursday, June 4, 2026

वैदेशिक रोजगारीका नाममा ठगी: ३ लाख नदिए उड्न नदिने म्यानपावर एजेन्ट रङ्गेहात पक्राउ

spot_img

बारा, ०३ जेठ । ‘फ्री भिसा, फ्री टिकट’ को सरकारी नीतिको धज्जी उडाउँदै वैदेशिक रोजगारीमा जाने युवाहरूसँग मोटो रकम असुल्ने म्यानपावर कम्पनीको लुटधन्दाको एउटा रूप पर्दाफास भएको छ । सेक्युरिटी गार्डका रूपमा मलेसिया जान लागेका सप्तरीका अजय कुमार यादवसँग नियमविपरीत ३ लाख रुपैयाँ माग गरी बन्धक बनाउने कोटेश्वरस्थित ग्रान्ड स्विट जब म्यानपावरका एजेन्टलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयको सक्रियता र प्रहरीको विशेष स्टिंग अपरेसनका क्रममा तीनकुने गैरीगाउँस्थित पेट्रोल पम्प अगाडिबाट ती कर्मचारीलाई नियन्त्रणमा लिइएको हो । पीडित यादवका अनुसार मलेसियाको रोजगारदाता कम्पनीले भिसा र हवाई टिकट पठाइसकेको भए तापनि म्यानपावरले रकम नबुझाएसम्म कागजात नदिने अडान राखेको थियो । सरकारले मलेसियाका लागि अधिकतम १० हजार रुपैयाँ सेवा शुल्क तोकेको भए तापनि म्यानपावरले यादवसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको र पछि १० हजार छुट दिने भन्दै ३ लाखमा कुरा मिलाएको थियो । पीडितले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए भने बाँकी २ लाख २० हजार रुपैयाँ नदिएसम्म वैशाख २९ गतेको उनको फ्लाइट रोकेर कागजात बन्धक बनाइएको थियो । म्यानपावरले जेठ ३ गते उडाइदिने सर्तमा बाँकी पैसा लिएर बोलाएपछि पीडित यादव ऋण काढेर काठमाडौँ पुगेका थिए ।

रोजगारको प्रलोभनमा ठगिन लागेको भन्दै अजयले आफ्नै निर्वाचन क्षेत्रका श्रममन्त्री रामजी यादवको सचिवालयमा बेलैमा जानकारी गराएका थिए । लगत्तै मन्त्रीका स्वकीय उपसचिव सरोज यादव र तीनकुने वृत्तका प्रहरी अधिकारीहरूको संयुक्त टोलीले जाल झेलेर बसेका एजेन्टलाई पैसा लेनदेनकै क्रममा घेराबन्दी गरी पक्राउ गर्‍यो । पक्राउ परेका ती कर्मचारीको साथबाट प्रहरीले ४ वटा पासपोर्ट, हवाई टिकट र अन्य महत्त्वपूर्ण कागजात समेत बरामद गरेको छ, जसबाट उनी अन्य युवाहरूलाई पनि यसै गरी ठग्ने दाउमा रहेको देखिन्छ । सुरुमा पैसा लिएर मात्र कागजात दिने अडान कसेका ती एजेन्ट फ्री भिसा, फ्री टिकटको देशमा किन ३ लाख मागेको भन्ने प्रहरीको प्रश्नपछि निरुत्तर भएका थिए ।

प्रहरीको सफल अपरेसनपछि पीडित यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी उनलाई हस्तान्तरण गरिएको छ भने आइतबार उनको मलेसिया उडान सुनिश्चित भएको छ । न्याय पाएपछि खुसी व्यक्त गर्दै पीडित यादवले सुरुमा पैसा लाग्दैन भन्ने तर भिसा आएपछि गरिबलाई धम्क्याएर लुट्ने यस्ता गिरोहलाई कडा कानुनी कारबाही हुनुपर्ने माग गरे । य

ता श्रममन्त्रीको सचिवालयले वैदेशिक रोजगारीका क्रममा यस्ता ठगी वा समस्या आइपरेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अपिल गरेको छ भने पक्राउ परेका एजेन्टमाथि थप कानुनी कारबाहीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर