काठमाडौं, ०५ जेठ। भिजिट भिसामा भ्रमणको लागि विदेश जाने १२ जनामध्ये ९ जना नेपाली भ्रमणपश्चात स्वदेश नफर्कने गरेको पाइएको छ ।
हालै महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ६३ औं वार्षिक प्रतिवेदनमा यो विषयलाई औँल्याएको छ ।
प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१/८२ मा भिजिट भिसामा एक लाख ४९ हजार ७८९ पुरूष र एक लाख ११ हजार ७६२ महिलासमेत दुई लाख ६१ हजार ५५१ जना नेपाली विदेश गएका थिए ।
“भिजिट भिसामा विदेश भ्रमणमा जानेहरूको महिनाको एकजनाको दरले १२ जनाको नमुना छनोट गरी परीक्षण गरिएकोमा १२ मध्ये नौजना भ्रमणपश्चात् स्वदेश फर्केको देखिएन,” प्रतिवेदनमा भनिएको छ, “उक्त परीक्षणमध्ये एकजना यस आर्थिक वर्षमा २ पटक र सन् २०२० देखि हालसम्म यूएई, थाइल्यान्ड, सिंगापुर, भारत, चीन र फिलिपिन्समा १० पटक गएको देखियो ।”
भिजिट भिसामा ठूलो संख्यामा नेपालीहरू विदेश प्रस्थान गर्ने र सोही अनुपातमा आगमन भएको नदेखिँदा यसमा नियमन गर्नुपर्ने सुझाव महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा दिएको छ ।





