वीरगन्ज, ०५ जेठ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा समाजिक सञ्जाल मार्फत विभिन्न किसिमको अभिव्यक्तिहरू दिने क्रममा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने र विभिन्न जातजाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने अभिव्यक्ति दिँदै आएका थिए।
साथै नेपाल सरकार वा नेपाल सरकारको काम कारवाहीको सम्बन्धमा कुनै किसिमबाट निराधार वा अप्रमाणित कुरा देखाइ सरकारप्रति घृणा, द्वेष वा अवहेलना गर्नेगरी विभिन्न किसिमको अमर्यादित तथा अस्वस्थ्य आलोचनात्मक अभिव्यक्तिहरू दिएकोले सोमबार राति ८ बजेको समयमा वीरगन्जबाट उनलाई पर्सा प्रहरीले पक्राउ गरेको थियो।
सोमबार पक्राउ परेका प्रसाईंलाई अदालतले मंगलबार ३ दिन विद्युतीय (इलेक्ट्रनिक) कारोबार ऐन र राज्य विरुद्धको कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।





