रौतहट, ०६ जेठ। रौतहटको चन्द्रपुर नगरपालिकाले सरकारले दिँदै आएको २ दिने विदा नमान्ने भएको छ। नगरपालिकाले अबदेखि विद्यालय र सरकारी कार्यालयको बिदा कटौती गर्दै सामुदायिक तथा संस्थागत विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित सञ्चालन गर्न सुचना जारी गरेको छ।
नगर कार्यपालिकाले गरेको २ वटा निर्णयअनुसार यसअघि कायम रहेको अतिरिक्त बिदा हटाउँदै शिक्षण गतिविधि नियमित बनाउने तयारी गरिएको छ। नगरपालिकाले जारी गरेको सूचना नम्बर ‘क’मा विद्यालयहरू साबिकबमोजिम आइतबारदेखि शुक्रबारसम्म सञ्चालन हुने उल्लेख छ।
यस्तै, ‘ख’ नम्बर अर्थात दोस्रो निर्णयको रूपमा नगरपालिका कार्यालय, मातहतका स्वास्थ्य संस्था, पशु सेवा तथा कृषि शाखा, वडा कार्यालय र अस्पतालहरू पनि अब आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म तथा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
नगर प्रमुख सञ्जयकुमार काफ्लेद्वारा जारी गरिएको सूचनाअनुसार उक्त निर्णय आगामी जेठ १० गते आईतबारदेखि लागू हुनेछ।






