बारा, ०६ जेठ । सङ्घीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कँडेललाई वीरगञ्ज महानगरपालिकाले विगत १० दिनदेखि हाजिर गर्न दिएको छैन ।
मन्त्रिपरिषद्को २०८२ फागुन १२ गतेको निर्णयानुसार कँडेललाई वीरगञ्ज महानगरपालिकामा सरुवा गरिएको भए पनि महानगरले उनलाई काम गर्ने वातावरण तयार नपारेको हो ।
सरुवा भएको लामो समयसम्म पनि हाजिर हुन नआएको र मन्त्रालयले ताकेता गरेपछि मात्रै आएकाले उनलाई हाजिरी गराउन नसकिने वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले स्पष्ट पारेका छन् । नगरप्रमुख सिंहले सङ्घीय सरकारसँग कँडेलको विकल्पमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग समेत गरेका छन् ।
यता, प्रमुख प्रशासकीय अधिकृत कँडेल भने विगत १० दिनदेखि वीरगञ्जमै भए पनि महानगरमा हाजिर हुने वातावरण नहुँदा जिल्ला प्रशासन कार्यालयमा प्रतीक्षा गरेर बसिरहेका छन् ।
यसैबीच भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले यो सरुवा अघिल्लो सरकारको पालामा भएकाले अहिले देखिएको समस्या समाधानका लागि वीरगञ्ज महानगरपालिकासँग समन्वय भइरहेको र केही दिनमै निकास निस्कने विश्वास व्यक्त गरेका छन् ।
गत वैशाख ४ गते मन्त्रालयले यसअघिका प्रमुख प्रशासकीय अधिकृत (शिक्षा महाशाखाका १०औँ तहका कर्मचारी) अरविन्दलाल कर्णको आर्थिक र प्रशासनिक जिम्मेवारी हटाएका कारण हाल महानगरपालिकाको आर्थिक तथा प्रशासकीय कामकाज ठप्प भएको नगरप्रमुख सिंहले दाबी गरेका छन् ।





