बारा, ०८ जेठ । देशभर बढ्दो वायु प्रदूषण, नियन्त्रणबाहिर गइरहेको ट्राफिक जाम र ट्राफिक जामले आवतजावतमा चरम कठिनाइ भएको भन्दै नियन्त्रण गर्न सरकारले देशैभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा पूर्ण रोक लगाएको छ।
यातायात व्यवस्था विभागले एक पत्र जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात क्षेत्र हेर्ने सम्बन्धित मन्त्रालयहरू र देशभरका सबै स्थानीय तहलाई नयाँ सार्वजनिक सवारीको दर्ता तत्काल रोक्न निर्देशन दिएको हो।
सरकारको यो निर्णयसँगै अब अर्को सूचना जारी नभएसम्मका लागि डिजेल-पेट्रोलबाट चल्ने मात्र नभई विद्युतीय सार्वजनिक सवारी साधनको समेत नयाँ दर्ता पूर्ण रूपमा ठप्प हुने भएको छ।
यातायात व्यवस्था विभागका निर्देशक मणि राम भुसालद्वारा हस्ताक्षरित परिपत्रमा सार्वजनिक यातायात क्षेत्रको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा दैनिक आवागमन कठिनाइ बन्दै गएको उल्लेख छ।
‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) ले दिएको विशेष अधिकार प्रयोग गर्दै यो निर्णय गरेको जनाएको छ। उक्त कानुनी प्रावधानमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति र सार्वजनिक हितलाई ध्यानमा राखेर विभागले कुनै पनि सवारी साधनको दर्ता रोक्का गर्न आदेश दिन सक्ने व्यवस्था छ ।






