बारा , २७ जेठ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुअघि सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गर्नुभएको छ।
प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का प्रमुख व्यवस्थाबारे जवाफ दिँदै उहाँले कर दरसम्बन्धी सूचना चुहावट भएर जेठ १४ गते बीवाईडी गाडी भित्रिएको भन्ने आरोपलाई निराधार भएको बताउनुभयो।
अर्थमन्त्री वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको दाबी गर्दै बजेट वक्तव्यमा समावेश केही बुँदा आर्थिक विधेयकमा छुटेकाले मात्र संशोधन गरिएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने गलत मनसायले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा गरिएको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “देखिएका त्रुटि सच्याएर सार्वभौम संसद्को हातमा विधेयक पुगेपछि कुनै परिवर्तन गरिएको छैन। प्रतिनिधिसभा अवरोध गरेर बजेट र मेरो बारेमा संगठित रूपमा अफवाह फैलाइयो, बदनाम गर्न खोजियो। सुशासनका लागि दृढ रूपमा अघि बढेको सरकारविरुद्ध हिलो छ्यापेर छवि धमिल्याउने प्रयास गरिएको हो।”
अर्थ समितिको बैठकमा सदस्य लीमा अधिकारीले बजेटलाई ऐतिहासिक र रूपान्तरणकारी बताउँदै मन्त्री वाग्लेको जवाफपछि धेरै विषय स्पष्ट भएको प्रतिक्रिया दिनुभयो।
त्यसैगरी सदस्य नरेन्द्रकुमार केरूङले विगतका सरकारका कामलाई पूर्ण रूपमा अस्वीकार गर्ने भाष्य गलत भएको टिप्पणी गर्नुभयो।




