मकवानपुर, २८ जेठ। मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडक खण्डमा फास्ट ट्र्याक आयोजनामा प्रयोग भइरहेको पिकअप गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
बा.प्र.०१–०३३ च २१४४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई करिब १०० फिट तल खोलामा खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी अन्दाजी ४२ वर्षीय चालक बोधराज बुढाथोकी र फास्ट ट्र्याक आयोजनामा कार्यरत इन्जिनियर बारा पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको हो।
दुर्घटनापछि उद्धारका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएका थिए। गम्भीर घाइते भएका दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




