Wednesday, June 17, 2026

आजदेखि ५०० रुपैयाँको नयाँ बैंकनोट चलनचल्तीमा

काठमाडौं, असार ३। नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५०० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै साविककै आकार र रङमा केही परिमार्जित सुरक्षा विशेषता समावेश गरिएको बैंकनोट प्रचलनमा ल्याइएको जनाएको हो।

राष्ट्र बैंकका अनुसार नयाँ बैंकनोटमा सङ्केत नं. ‘झ’ देखि ‘ट’ तथा क्रम संख्या ०००००१ देखि ९९९९९९ सम्म रहनेछ। बैंकनोटमा वि.सं. २०८२ उल्लेख गरिएको छ।

नयाँ नोटको अगाडिको भागमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसबाट रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० पाँच सय तुरुन्त पाइने छ” भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ। त्यस्तै, बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। दृष्टिविहीन व्यक्तिले नोटको दर सजिलै पहिचान गर्न सकून् भन्ने उद्देश्यले विशेष स्पर्श चिन्हसमेत समावेश गरिएको छ।

नोटमा सगरमाथाको दायाँतर्फ कोणाकार आकृतिभित्र हेर्ने कोणअनुसार सुनौलो र हरियो रङ देखिने सुरक्षा चिन्ह राखिएको छ। साथै, गभर्नर डा. विश्वनाथ पौडेलको हस्ताक्षरसमेत रहेको छ। ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो प्रयोग गरिएको उक्त नोट सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ।

नोटको पछाडिको भागमा पाटेबाघको चित्र राखिएको छ भने माथिल्लो भागमा “NEPAL RASTRA BANK” र तल्लो भागमा “RUPEES FIVE HUNDRED” उल्लेख गरिएको छ। साथै, नोटमा सिरिज नम्बर “2025 A D” लेखिएको छ।

राष्ट्र बैंकले यसअघि २०७८ साल पुस ९ गते प्रकाशित सूचनासम्बन्धी विवरणमा स्पष्टता दिँदै त्यसबेला सूचित गरिएका ५०० रुपैयाँ दरका बैंकनोटमध्ये सङ्केत नं. ‘छ’ र ‘झ’ तथा क्रम संख्या ०००००१ देखि २४८००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर