बारा, १० असार । बाराको कलैया उपमहानगरपालिकाले बढ्दो गर्मी र तातो हावाका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै असार ११ गते बिहीबार र १२ गते शुक्रबार दुई दिनका लागि शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो। यो बिदाबापतको अवधि विद्यालयहरूको वार्षिक बर्षे विदाबाट कट्टा गरिने सूचनामा उल्लेख छ।
उक्त निर्णय अनुसार कलैया उपमहानगरपालिका अन्तर्गत सञ्चालित बालविकास केन्द्र (मन्टेश्वरी) देखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन्।



