बारा, १० असार। देवताल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ३९ करोड ७० लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ।
बुधबार आयोजित गाउँपालिकाको १६औँ गाउँसभामा गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षतामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो। गाउँसभामा उपाध्यक्ष सितापति देवी यादवले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल रु. ३९ करोड ७० लाख ३१ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, रोजगार प्रवर्द्धन तथा सामाजिक सुरक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाएको छ। साथै स्थानीय स्रोत तथा साधनको प्रभावकारी परिचालन गर्दै समग्र गाउँपालिकाको विकास र नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।
गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो। प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी गाउँसभाबाट अनुमोदन गरिने जनाइएको छ।
देवताल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास निर्माण, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा समावेशी विकासलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम ल्याएको जनाएको छ।



