Thursday, June 25, 2026

बारा सहित ११ जिल्लामा फैलियो बर्ड फ्लू

बारा, ११ असार। बारा जिल्ला यतिबेला बर्ड फ्लु संक्रमणको प्रमुख केन्द्रका रूपमा देखिएको छ। देशका ११ जिल्लामा फैलिएको एभियन इन्फ्लुएन्जा नियन्त्रणका लागि सरकारले तीव्र रूपमा कदम चालिरहेको छ, जसअन्तर्गत बारामा विशेष सतर्कता अपनाइएको छ।

पशु सेवा विभागका अनुसार बारा सहित महोत्तरी, झापा, सुनसरी, मोरङ, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमण पुष्टि भएको छ। संक्रमण नियन्त्रणका क्रममा हालसम्म देशभर ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएका छन् भने ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ।

प्रयोगशालामा गरिएको परीक्षणबाट एच–फाइभ एन–वान, एच–नाइन एन–टु तथा न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पाइएको छ। यद्यपि, कोशी प्रदेशमा पछिल्लो एक महिनामा संक्रमण नियन्त्रणमा ल्याउन सफल भएको विभागले जनाएको छ।

संक्रमण थप फैलिन नदिन सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरी विभिन्न कदमहरू अघि बढाएको छ। संक्रमित फार्मका सम्पूर्ण कुखुरा नष्ट गरी सुरक्षित रूपमा व्यवस्थापन (गाड्ने) गर्ने काम भइरहेको छ भने प्रयोगशालाहरूलाई बिदाको दिनसमेत सञ्चालन गरेर परीक्षणको दायरा विस्तार गरिएको छ।

सीमा नाका तथा क्वारेन्टाइन क्षेत्रमा निगरानी बढाइएको छ भने कुखुरा, अण्डा र दानाको ओसारपसारमा कडाइ गरिएको छ। साथै, अवैध रूपमा हुने पशुपन्छी बिक्री–वितरण रोक्न सुरक्षा निकायसँग सहकार्यमा विशेष अभियान सञ्चालन गरिएको विभागले जनाएको छ।

संक्रमण फैलिन थालेसँगै सर्वसाधारणमा कुखुराको मासु र अण्डा सेवनबारे अन्योल देखिए पनि विज्ञहरूले राम्रोसँग पकाएर सेवन गर्दा जोखिम न्यून हुने बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर