बारा, १२ साउन । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र दुर्व्यवहारका घटना बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई कुनै पनि अवस्थामा उपचार सेवा अवरुद्ध नगर्न आग्रह गरेको छ।
स्वास्थ्यकर्मीमाथिको कुटपिटको विरोधमा देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएकै दिन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया तीव्र पारिएकाले नागरिकको उपचार पाउने मौलिक अधिकारमा बाधा नपुर्याउन आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील भएकाले निरन्तर प्रवाह हुनुपर्नेमा जोड दिइएको छ।
स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनुपर्ने उनीहरूको नैसर्गिक अधिकार भएको स्वीकार गर्दै मन्त्रालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।
नागरिकको स्वास्थ्य उपचारमा कुनै सम्झौता हुन नसक्ने भन्दै मन्त्रालयले सम्पूर्ण अस्पताल तथा चिकित्सकहरूलाई संयमित भई सेवा सञ्चालन गर्न अपिल गरेको छ।
नारायणी अस्पताल घटना
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको निधन भएपछि उत्पन्न तनावका कारण समग्र स्वास्थ्य क्षेत्र अशान्त बनेको छ। शनिबार मुटुसम्बन्धी समस्याका कारण भर्ना भएका ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र समूहले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्ने क्रममा केहि चिकित्सक समेत आक्रमणमा परेका थिए।
टाउकोमा गम्भीर चोट लागेका चिकित्सकलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ।
घटनापछि असुरक्षित वातावरण र स्थानीय प्रशासनसँगको वार्तामा दुर्व्यवहार भएको भन्दै नारायणी अस्पतालका करिब ८० जना चिकित्सकहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन्।
कार्यस्थलमा सुरक्षाको माग गर्दै वीरगञ्जबाट सुरु भएको यो आन्दोलनका कारण नै नेपाल चिकित्सक सङ्घले देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द गराउने निर्णय लिएको हो।



