बारा, १६ साउन । सिरहाको औरही गाउँपालिका–२ मोतिपुरमा गत साउन १४ गते भएको दुःखद् घटनामा ज्यान गुमाएका गणेश यादवको परिवार र नेपाल सरकार बीच साउन १५ गते ७ बुँदे सम्झौता भएको छ।
गृहमन्त्री सुधन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवबीच भएको उक्त सहमतिमा मृतक यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र परिवारलाई नेपाल सरकारका तर्फबाट रु. १० लाख राहत उपलब्ध गराउने उल्लेख छ।
साथै, गोलबजार क्षेत्रमा भएको सो घटनाको निष्पक्ष एवम् प्रभावकारी छानबिन गरी दोषीमाथि कारबाही गर्ने, गठित छानबिन समितिको प्रतिवेदन अनुसारका सुझाव कार्यान्वयन गर्ने र मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने सहमति भएको छ।
सम्झौता अनुसार मृतकको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिनेछ भने उनको शालिक निर्माणका लागि आवश्यक पहल गरिनेछ। यसका साथै मृतकका भाई र बहिनीलाई निःशुल्क शिक्षा तथा बुबा र आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने सहमति पनि भएको छ।
सहमति भएसँगै आज साउन १६ गते बिहान १० बजे मृतक गणेश यादवको अन्तिम संस्कार गर्ने निर्णय गरिएको छ।



