Monday, August 10, 2026

जेन्जी एण्ड युथ अफ बारा द्वारा प्रादेशिक अस्पताल कलैया सुधारका लागि दबाब

कलैया, ०६ पुस । बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा देखिएका विभिन्न समस्या समाधान र सेवासुधारको माग गर्दै जेन्जी एण्ड युथ अफ बाराले अस्पताल व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाएको छ।

संयोजक सौरभ पाण्डेको नेतृत्वमा गएको टोलीले आज सर्वदलीय छलफल गर्दै प्रादेशिक अस्पताल कलैया व्यवस्थापन समितिका अध्यक्ष जवाहिर अन्सारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। ज्ञापनपत्रमा अस्पतालमा चलिआएको परम्परागत र अव्यवस्थित अभ्यास अन्त्य गरी सेवा प्रभावकारी बनाइनुपर्ने माग गरिएको छ।

ज्ञापनपत्रमा अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले ड्युटी समयमै इमान्दारीपूर्वक जिम्मेवारी बहन नगरेको, सरकारी अस्पतालको ड्युटी समयमा निजी क्लिनिकमा समेत उपस्थित रहने गरेको गुनासो उल्लेख गरिएको छ। साथै सरकारी कार्यालयको समयअनुसार ओपीडी सेवा सञ्चालन हुनुपर्नेमा हाल बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सेवा दिइँदै आएको भन्दै त्यसमा सुधार आवश्यक रहेको जनाइएको छ।

सरकारबाट उपलब्ध हुने ९८ प्रकारका निःशुल्क तथा बिमा औषधि लिन बिरामीले घण्टौँ लाइनमा बस्दा पनि औषधि नपाउने समस्या रहेको, प्रयोगशाला तथा विभिन्न फाँटमा आफन्तवाद र सिफारिस हाबी रहेको तथा गम्भीर बिरामी र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सेवा नदिइएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा कलैया अस्पताल तुलनात्मक रूपमा जिल्लाकै सुविधासम्पन्न अस्पताल हुँदाहुँदै पनि बिरामीलाई निजी अस्पताल वा क्लिनिकमा रेफर गर्ने प्रवृत्ति किन भइरहेको छ भन्ने प्रश्न उठाइएको छ। साथै अनावश्यक औषधि लेख्ने, मल्टिभिटामिनको कमिसन खेल हुने गरेको आरोपसमेत लगाइएको छ।

उक्त समस्याको समाधानका लागि १२ बुँदे माग प्रस्तुत गरिएको छ। जसमा ड्युटी समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अनिवार्य उपस्थिती, सम्पर्क नम्बर र नाम सार्वजनिक गर्ने, अस्पतालभित्र एटीएम र काउन्टरहरूमा क्युआर भुक्तानी व्यवस्था, २४ सै घण्टा ९८ प्रकारका औषधि उपलब्ध गराउने, ओपीडी समय बिहान १० देखि दिउँसो ४ बजेसम्म बनाउने, अस्पतालको शय्या संख्या कम्तीमा १०० पुर्‍याउनेलगायतका माग छन्।

त्यसैगरी रेफर प्रणालीको अन्त्य, राजनीतिक नियुक्ति बन्द गरी दक्ष र इमान्दार जनशक्ति व्यवस्थापन, स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था, बिमितलाई छिटोछरितो सेवा, तथा ल्याब परीक्षण र रगत क्रस म्याचिङ शुल्क आधा गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ।

सर्वदलीय छलफल कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ता, चिकित्सक अनिल चौरसिया लगायत सौरभ चौगाई, संजय चौधरी, एजाजुल अन्सारी, राज गुप्ता, अशोक पाण्डे, लक्ष्मी नारायण ब्याहुत, आनन्द गुप्ता, मुरारी सरार्फ तथा विभिन्न जेनजी युवाहरूको सहभागिता रहेको थियो। 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर