कलैया, १९ माघ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणले सञ्चार क्षेत्रमार्फत शान्ति सुरक्षा र जनसरोकारका विषयलाई तथ्यपरक रूपमा उजागर गर्दै आएको योगदानको कदर गर्दै चार जना पत्रकारलाई सम्मान गरेको छ।
बाराको कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैयास्थित नम्बर १२ गणको परिसरमा आयोजित सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीको बिदाइ कार्यक्रमका अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।
सम्मानित हुने पत्रकारहरूमा साझेदारी राष्ट्रिय दैनिकका कलैया संवाददाता सन्दीप प्रसाद यादव, नियमित खबरकी सुष्मिता यादव, न्युज खोज तलाश डट कमका भरत सर्राफ तथा जन सूचना न्युजका रसिद आलम रहेका छन्। यसैगरी मुन्ना डिजिटल भिडियोग्राफी कलैयाका मुन्ना साहलाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा एसपी केसीले जिम्मेवारी क्षेत्रभित्र शान्ति सुरक्षा सुदृढीकरण, सीमा सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा जनसरोकारका गतिविधिमा पत्रकारहरूले निष्पक्ष, सत्यनिष्ठ र जिम्मेवार भूमिका निर्वाह गरेको उल्लेख गर्दै सशस्त्र प्रहरी र सर्वसाधारणबीच विश्वास बढाउन सञ्चारकर्मीहरूको योगदान महत्वपूर्ण रहेको बताए।
सोही अवसरमा एसपी केसीको भव्य बिदाइसमेत गरिएको थियो।
कार्यक्रममा नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी, मटिअर्वाका डीएसपी धन बहादुर राना, सशस्त्र प्रहरी निरीक्षकहरू इन्द्रजंग थापा, उमेशकुमार आलेसहित नायब निरीक्षक, सहायक निरीक्षक तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक विक्रम पौडेलले गरेका थिए।





