कलैया, २८ फाल्गुन। गत फाल्गुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका बाराका १ जनासहित १३ जना निर्वाचन प्रहरीलेले कर्तव्य पालनाको सिलसिलामा आफ्नो ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीका अनुसार निर्वाचन प्रहरीको नियुक्ति लिइसकेपछि काममा खटिएकै अवस्थामा भिरबाट लडेर तथा सवारी दुर्घटनामा परी उनीहरूको ज्यान गएको हो ।
फाल्गुन ६ गते यता ज्यान गुमाउने ११ जना मध्ये बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं ४ इनर्वा निवासी २५ वर्षिय शेख जमसैद, धनुषाको धनौजी गाउँपालिका वडा नं ४ का ३७ वर्षिय राजेशकुमार पासवान, महोत्तरीको मटिहानी नगरपालिका वडा नं ७ का २३ वर्षिय राजाबाबु राम रहेका छन् । बैतडीको दशरथचन्द नगरपालिका वडा नं ४ का महादेव ओड, बैतडीकै मेलौली नगरपालिका वडा नं ६ का राजेन्द्रप्रसाद भट्ट रहेका छन्।
यस्तै रौतहटको गुजरा नगरपालिका वडा नं २ चोचाटोलका १९ वर्षिया जेश्मी चौधरी, नवलपरासीको सरावल गाउँपालिका वडा नं २ मनरीका २० वर्षिय सुरज चमार, राैतहटको फतुवा बिजयपुर नगरपालिका वडा नं ७ का २४ वर्षिय पवन साह, कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ३ बल्मीका ३५ वर्षिय मानसिंह राना, नुवाकोटको बिदुर नगरपालिका वडा नं ९ का ४० वर्षिय बेगबहादुर तामाङ र सिन्धुपाल्चोकको बाहृबिसे नगरपालिका वडा नं ४ ओख्रेनीका ४७ वर्षिय नकुल भण्डारीको ज्यान गएको छ ।
रुपन्देहीको सिद्दार्थ नगरनगरपालिका वडा नम्बर ९ का २५ वर्षिय बाबुराम यादव र बैतडीको दशरथचन्द नगरपालिका वडा नं ४ का ३२ वर्षिय प्रकाश चन्दको माघ २० गते निधन भएको थियो ।
४० दिन कार्यअवधि तोकेर १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका १ लाख ४९ हजार ९० जना नेपाली नागरिक निर्वाचन प्रहरीमा भर्ना भएका थिए । फाल्गुन २१ गतेको निर्वाचन, त्यसअघि र गणना अवधिभर प्रहरी र सशस्त्रको सहयोगी बनेर निर्वाचन प्रहरी फिल्डमा खटिएका थिए ।
जिम्मेवारी निर्वाहका क्रममा निर्वाचन प्रहरीको मृत्यु भएमा प्रहरी जवानको मृत्यु हुँदा नजिकका हकवालालाई दिइने सुविधासरह नै उसका परिवारलाई सुविधा दिइने व्यवस्था छ ।



