बारा, १० वैशाख। सिरहामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको नरहा गाउँपालिका—३ खोरिया टोलमा आज दिउँसो मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको हो।
चोहर्वा—सिरहा सडकखण्डमा पैदल हिँडिरहेकी पाँच वर्षीया खजिजा खातुनलाई सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले करिब १२ बजे ठक्कर दिएको थियो।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालका अनुसार ठक्कर दिने मोटरसाइकल चालक हाल फरार रहेका छन् र उनको खोजी कार्य तीव्र पारिएको छ। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकललाई भने आफ्नो नियन्त्रणमा लिएको छ।





