काठमाडौं, ०२ असार। जल तथा मौसम विज्ञान विभागले नेपालमा यस वर्ष मनसुन आगमन केही दिन ढिलो हुन सक्ने जनाएको छ। विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सामान्यतया नेपालमा मनसुन जुन १३ तारिख (जेठ ३०/असार १ आसपास) प्रवेश गर्ने भए पनि हालसम्म मनसुन नेपाल भित्रिन नसकेको र केही दिन ढिलो हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
विभागका अनुसार उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणले मनसुन आगमनमा ढिलाइ हुन सक्ने संकेत गरेको हो। यद्यपि, पश्चिमी वायु र स्थानीय प्रणालीको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको गतिविधि भने जारी रहेको छ।
विज्ञप्तिमा प्रशान्त महासागरमा विकसित हुँदै गएको एल–निनो अवस्थाले नेपालसहित दक्षिण एसियाको मनसुनी प्रणालीलाई असर पार्न सक्ने उल्लेख गरिएको छ। विगतका केही वर्षमा पनि एल–निनोका कारण मनसुन ढिलो प्रवेश गरेको विभागले जनाएको छ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार सन् १९६२, १९६३, १९६७, १९९१, १९९७, २००२, २००९, २०१६, २०२१ र २०२३ मा समेत मनसुन निर्धारित मितिभन्दा ढिलो प्रवेश गरेको थियो।
मौसमविद्हरूले यस वर्षको मनसुनी प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाउँदै अद्यावधिक मौसम जानकारी नियमित रूपमा सार्वजनिक गरिने बताएका छन्। साथै, सर्वसाधारणलाई आधिकारिक मौसम पूर्वानुमान र सूचनाको पालना गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।



