बारा, ०३ असार। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ती सबै घटनाहरू फरक–फरक स्थानमा भए पनि अधिकांश दुर्घटना सवारी साधन अनियन्त्रित हुनु तथा ठोक्किनुका कारण भएका हुन्।
बारा: हिजो मंगलबार २ गते साँझ साढे ६ बजे आदर्शकोटवाल गाउँपालिका–३ स्थित क्षेत्रमा टिपर र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय रञ्जित साह र पछाडि सवार ४० वर्षीय अभिनन्दन साह घाइते भएका थिए। उनीहरूलाई नौतनस्थित न्यूरो अस्पताल लगिएकोमा उपचारका क्रममा राति २०:०० बजे अभिनन्दन साहको मृत्यु भएको प्रहरीले जनाएको छ।
रौतहट: मंगलबार असार २ गते साँझ पौने ५ बजे गरुडा नगरपालिका–४ स्थित भित्री सडक खण्डमा टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय शेख आशिक सामान्य घाइते भए भने पछाडि सवार २० वर्षीय शेख सोहेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले साँझ ५ बजे मृत घोषणा गरेका थिए।
तनहुँ: मिति जेठ २९ गते बिहान करिब १०:१० बजे शुक्लागण्डकी नगरपालिका–५, सरोटारस्थित पृथ्वीराजमार्गमा स्कुटर अनियन्त्रित भई सडक किनारामा पार्किङ गरिएको ट्रममा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक तनहुँ सावाकोट निवासी ३० वर्षीय अर्जुन न्यौपाने गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र धरान लगिएको थियो। थप उपचारका लागि काठमाडौंस्थित बांसबारीको न्यूरो अस्पताल पठाइएकोमा उपचारकै क्रममा हिजो मंगलबार राति सवा ८ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
गोरखा: मिति जेठ २९ गते बिहान ९:४० बजे गोरखा नगरपालिका–९ स्थित क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय रवि बोगटी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल प्रदेश अस्पताल गोरखा लगेर उपचार गरिएको थियो। उपचारकै क्रममा हिजो मंगलबार बिहान १०:३६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
धनकुटा: मंगलबार बिहान ९:३० बजे धनकुटा नगरपालिका–४, स्कुलडाँडास्थित कोशी लोकमार्गमा विपरीत दिशाबाट आएका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–९ घर भएका ५५ वर्षीय विशाल चौधरी गम्भीर घाइते भएका थिए। उनलाई जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा बिहान १०:०४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुली: हिजो मंगलबार बिहान साढे ११ बजे कमलामाई नगरपालिका–६, बी.पी. राजमार्गमा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कमलामाई नगरपालिका–१२ बस्ने ३० वर्षीय मनिष माझी गम्भीर घाइते भएका थिए। उनलाई जिल्ला अस्पताल सिन्धुली लगिएको थियो जहाँ उपचारकै क्रममा दिउँसो ४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
जुम्ला: हिजो ०२ गते साँझ ६ बजे तातोपानी गाउँपालिका–३ स्थित कर्णाली राजमार्गमा ट्र्याक्टर आफैं अनियन्त्रित भई करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा चालक गम्भीर घाइते भएका थिए। उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएकोमा उपचारकै क्रममा साँझ साढे बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
नवलपरासी (पूर्व): असार २ गते बिहान ११:२० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका–९ क्षेत्रमा ट्रक र स्कुटर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक १९ वर्षीय सुवास आले गम्भीर घाइते भएका थिए। उनलाई चितवन मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा दिउँसो ११:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
झापा: हिजो २ गते राति ८ बजेर २० मिनेटमा गौरादह नगरपालिका–१ स्थित सडक खण्डमा टिपरले साइकल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा ६१ वर्षीय प्रेम प्रसाद गुरागाईं गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा राति पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।



