बारा, ०३ असार । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगानहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्।
नेपाल चिया उत्पादक सङ्घ झापाले भद्रपुरमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यस अप्रिय कदम चाल्न बाध्य भएको जानकारी दिएको हो। भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि उद्योगीहरूले यो निर्णय लिएका हुन्।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको हुने गरेको छ । जसमध्ये करिब ५ अर्ब रुपैयाँको चिया भारततर्फ मात्रै निर्यात हुने गर्दछ। सङ्घका महासचिव शुक्र दाहाल र अध्यक्ष सुरेशकुमार मित्तल (पराजुली) ले उद्योग बन्द हुँदा यस क्षेत्रमा आश्रित करिब ६० हजार श्रमिक तथा कर्मचारीहरूको रोजगारी संकटमा पर्ने र राज्यले वार्षिक रूपमा प्राप्त गर्ने करिब १ अर्ब रुपैयाँ राजस्व समेत गुम्ने खतरा बढेको औंल्याउनुभएको छ।
उद्योगीहरूले वर्तमान सङ्कटको निकासका लागि नेपाल सरकारसँग तत्काल उचित पहल गर्न जोडदार माग गरेका छन्। भारततर्फको निर्यात रोकिएको अवस्थामा विकल्पका रूपमा बङ्गलादेश र पाकिस्तान जस्ता तेस्रो मुलुकहरूमा नेपाली चिया निर्यात गर्ने वातावरण मिलाइदिन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
तत्कालको यो बन्दले चिया क्षेत्रमा ठूलो आर्थिक क्षति पुग्ने निश्चित देखिएकाले सरोकारवाला निकायले समयमै कूटनीतिक र व्यापारिक समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।



