बारा, ०७ असार । वैदेशिक रोजगारीका लागि विभिन्न आकर्षक देशहरूमा पठाइदिने र मोटो रकम कमाइने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले फरक-फरक मिति र स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा अर्घाखाँचीका २८ वर्षीय सन्तोष अधिकारी, दाङका २९ वर्षीय हेमन्त केसी, सुनसरीका ४२ वर्षीय सुक देव राई र ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका ४७ वर्षीय राम रतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी तथा रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका छन्।
हाल उनीहरू सबैजना काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।पीडितहरूको उजुरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम असुल गरेर सम्पर्कविहीन भएका थिए।
जसमध्ये सन्तोष अधिकारीले ग्रिस पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ, हेमन्त केसीले क्रोएसियाका लागि १३ लाख ३० हजार रुपैयाँ, सुक देव राईले सर्विया पठाइदिने बहानामा दुई जनाबाट १३ लाख रुपैयाँ र मनिष पोदारले युके पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेका थिए। त्यसैगरी, राम रतन मिश्रले युएईका लागि २ लाख ३० हजार रुपैयाँ, अमृत अधिकारीले अजरबैजान पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रुपैयाँ र मिर इसलामानाले युके पठाइदिने प्रलोभनमा १२ लाख ६३ हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको छ।
प्रहरीले सन्तोष र हेमन्तलाई बुधबार सुक देवलाई बिहीबार तथा मनिष, राम, अमृत र मिरलाई शुक्रबार काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबैजनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



