बारा, ०८ असार । बाराको पचरौता नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ६१ करोड ४१ लाख ३१ हजार रुपैयाँको बजेट तथा नीति र कार्यक्रम सार्वजनिक गरेको छ।
सोमबार सम्पन्न नगरपालिकाको १६ औँ नगरसभामा उपप्रमुख नसिमा खातुनले बजेटको ब्याग नगर प्रवक्ता लक्ष्मीप्रसाद यादवलाई हस्तान्तरण गरेकी थिइन्। त्यसलगत्तै नगर प्रवक्ता यादवले सभामा बजेट विवरण प्रस्तुत गरेका हुन्।
नगरपालिकाद्वारा सार्वजनिक बजेटको स्रोत व्यवस्थापनमा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा आन्तरिक आयलाई आधार बनाइएको छ।
विनियोजित बजेटमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड १५ लाख, सशर्त अनुदानतर्फ २१ करोड ८२ लाख, समपूरक अनुदान ५५ लाख, विशेष अनुदान १ करोड र राजस्व बाँडफाँडतर्फ १० करोड १८ लाख १० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसैगरी, मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ७६ लाख २१ हजार, सशर्त अनुदान ९५ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख र राजस्व बाँडफाँडतर्फ ५० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। बाँकी स्रोतका लागि नगरपालिकाले आन्तरिक आयबाट ५ करोड, स्थानीय राजस्व बाँडफाँडबाट ३ करोड र बैंक मौज्दात (आल्य) बाट ६ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ।
नगर प्रमुख जलन्धर सिंह जैसवारको अध्यक्षतामा सम्पन्न उक्त नगरसभामा उपप्रमुख नसिमा खातुन, विभिन्न वडाका वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।



