बारा, ०९ असार। फिनल्यान्डका महामहिम राजदूतज्यू तथा उनको उच्चस्तरीय टोलीले हालै बारागढी गाउँपालिकाको सद्भावना भ्रमण सम्पन्न गरेको छ। गाउँपालिकाले राजदूतज्यूको गरिमामय उपस्थितिप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै उक्त भ्रमणले स्थानीय तह र नागरिकमा नयाँ उत्साह थपेको जनाएको छ।
भ्रमणका क्रममा राजदूतज्यूको टोलीले बारागढीको समग्र अवस्थाबारे स्थलगत अवलोकन गर्नुका साथै विशेष गरी शिक्षा क्षेत्रको विकास, गुणस्तर अभिवृद्धि र विद्यमान चुनौतीबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग गहन छलफल गरेको थियो। छलफललाई अत्यन्त फलदायी र प्रेरणादायी मानिएको गाउँपालिकाले जनाएको छ।
फिनल्यान्डको विश्वप्रसिद्ध शैक्षिक प्रणालीको अनुभवका आधारमा स्थानीय शिक्षा क्षेत्रलाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा टोलीले दिएको सुझाव र मार्गदर्शनलाई बारागढीले महत्वपूर्ण उपलब्धिको रूपमा लिएको छ। यसले आगामी दिनमा शिक्षा क्षेत्रमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास गरिएको गाउँपालिका प्रमुख अशोक कुमार जयसवालले जानकारी दिए ।
जयसवालका अनुसार, उक्त भेटघाट र संवादले बारागढीको शैक्षिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यको नयाँ ढोका खोल्नेछ। भविष्यमा संयुक्त कार्यक्रम, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लक्ष्मी देवी राय, कार्यपालिकाको कार्यालयले राजदूतज्यू तथा उनको टोलीलाई व्यस्त समयका बावजुद भ्रमणका लागि समय निकालेर शिक्षा क्षेत्रमा रचनात्मक संवाद गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरेको छ।



