Tuesday, June 23, 2026

बाराबाट रवाना लिएर हिँडेका वरिष्ठ सईको डाक्टरले चलाएको कारको ठक्करबाट मृत्यु

सुनसरी, ०९ असार। बाराबाट रवाना लिएर नयाँ दरबन्दीतर्फ जाँदै गरेका नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको सवारी दुर्घटनामा परी मंगलबार मृत्यु भएको छ। उक्त दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्।

दुर्घटना सुनसरीको बर्जु गाउँपालिका–६ स्थित नरह चोकमा मंगलबार दिउँसो करिब १२ बजे भएको हो। हुलाकी राजमार्ग अन्तर्गत विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय (ईभी) कारले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक अन्दाजी ५० वर्षीय यादवको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएकोमा उपचारकै क्रममा दिउँसो ४:१६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनको उपचार सोही अस्पतालमा भइरहेको छ।

मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्। उनी यसअघि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थिए। सईबाट वरिष्ठ सईमा बढुवा भएका उनले असार ६ गते दरबन्दी कायम भएको जिल्ला प्रहरी कार्यालय सिराहामा जानका लागि रवाना लिएका थिए। तर, उनी हालसम्म सिराहामा हाजिर भइसकेका थिएनन्।

दुर्घटनामा संलग्न कार चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी अन्दाजी ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चौधरी नेपाल मेडिकल एशोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन्।

प्रारम्भिक अनुसन्धानअनुसार उनी एक्स–रे सेवा प्रदान गर्न चिमडी बजारतर्फ जाँदै गर्दा आफैंले चलाएको कारबाट दुर्घटना भएको खुलेको छ। प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा गुडिरहेको थियो। ठक्कर लगत्तै मोटरसाइकलमा आगलागी समेत भएको थियो, जसलाई स्थानीयको सहयोगमा तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर