Monday, June 29, 2026

असार १५ सम्म मधेश प्रदेशमा ४.३६ प्रतिशत रोपाइँ

बारा, १५ असार । नेपालको प्रमुख अन्न भण्डार मानिने मधेश प्रदेशमा यस वर्ष असार १५ गते भइसक्दा पनि ४ दशमलव ३६ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १५ गते सम्म मधेश प्रदेशमा कुल धान रोपाइँ हुने ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये मात्र ४ दशमलव ३६ प्रतिशत अर्थात् १६ हजार ९११ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।

मधेशका जिल्लाहरूमध्ये महोत्तरीमा सबैभन्दा धेरै ८ दशमलव १७ प्रतिशत रोपाइँ भएको छ भने धनुषा र बारामा ७ प्रतिशत, सिरहा र सप्तरीमा ५ प्रतिशत तथा सर्लाहीमा २ दशमलव ५ प्रतिशत प्रगति देखिएको छ।

अर्कोतर्फ, पर्सा र रौतहटमा भने चैते धान काट्न बाँकी रहेका कारण अझै रोपाइँ सुरु हुन सकेको छैन। यद्यपि, हाल मनसुन सक्रिय भई वर्षा भइरहेकाले अबका दिनमा धान रोपाइँले तीव्र गति लिनेमा किसानहरू आशावादी छन्।

यसैबीच, मानो रोपेर मुरी फलाउने महत्त्वपूर्ण समयको अवसर पारेर आज देशभर २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्यताका साथ मनाइएको छ। कृषि प्रधान नेपालमा धानको महत्त्वलाई आत्मसात् गर्दै सरकारले हरेक वर्ष असार १५ गतेलाई धान दिवसका रूपमा मनाउने गरेको छ । यस वर्ष यो दिवस “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मुख्य नाराका साथ मनाइएको हो। दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले देशभरका विभिन्न जिल्लाहरूमा सामूहिक रोपाइँ र विशेष उत्सवका कार्यक्रमहरू आयोजना गरेका थिए।

नेपाली समाजमा सांस्कृतिक रूपमा असार १५ लाई दही–चिउरा खाने मौलिक पर्वका रूपमा समेत लिने गरिन्छ। खेतको हिलो र पानीमा दिनभर व्यस्त हुने किसानहरूलाई ऊर्जा र शीतलता प्रदान गर्न दही-चिउरा खाने परम्परा रहिआएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर