बारा, १५ असार। बाराको महागढीमाई नगरपालिका–१, डिही टोलस्थित वडा नं. १ कार्यालय अगाडि आईतबार बिहान करिब साढे १० बजे भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ।
वडा कार्यालय अगाडि पार्किङ गरी राखिएको म.प्र.०३–००२ स.२८६२ नम्बरको इलेक्ट्रिक ई–लोडरमा ५/७ जना बालबालिका खेलिरहेका बेला उक्त सवारीसाधन अचानक स्टार्ट भई दुर्घटना भएको प्रहरीले जनाएको छ। सो क्रममा स्थानीय सजाद मियाकी करिब ६ वर्षीया छोरी तबसुन खातुन गम्भीर घाइते भएकी थिइन्।
घाइते बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएकोमा चिकित्सकले बिहान ११ बजे मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।



