बारा, १६ असार । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको लाखौँ मूल्य बराबरका आइफोन रुपन्देहीबाट प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको विशेष टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा जाँच गर्ने क्रममा उक्त अवैध सामग्री फेला पारेको हो। भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकललाई संकास्पद मानी चेकजाँच गर्दा भन्सार छलेर ल्याइएका एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान स्मार्टफोन फेला परेका हुन्।
बरामद गरिएका फोनहरूको बजार मूल्य करिब २० लाख ५० हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका सबै आइफोन र ओसारपसारमा प्रयोग गरिएको भारतीय मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ।
सीमा क्षेत्रमा हुने यस्ता अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले निगरानी र सक्रियता बढाएको जनाएको छ।



