बारा, १६ असार । भूमि व्यवस्था सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच स्थानीय तहका समस्या समाधान र तीनवटै तह (सङ्घ–प्रदेश–स्थानीय) बीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा विशेष छलफल भएको छ ।
भेटघाटका क्रममा स्थानीय तहहरूमा लामो समयदेखि देखिँदै आएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत समीक्षा गरिएको थियो । छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय तहका विद्यमान समस्याहरूका बारेमा प्रदेश सरकार पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै तिनको समाधानका लागि आफ्नो तर्फबाट आवश्यक र ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय सरकारलाई थप सबल र व्यवस्थित बनाउन सङ्घीय मन्त्रालयले चालेका कदमबारे प्रष्ट पार्दै मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा विशेष टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरिरहेको बताएकी छन् । उक्त टोलीहरूले विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीहरूसँग प्रत्यक्ष छलफल गरी स्थानीय तहका वास्तविक समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण संकलन गरेको उनले बताइन ।
मन्त्री रावलले स्थानीय तहका समस्याको दिगो समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको प्रभावकारी समन्वय अनिवार्य रहेकोमा जोड दिँदै मन्त्रालयले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन आफ्ना प्रयास र पहलहरूलाई निरन्तरता दिने दृढता व्यक्त गरेकी छन् ।



