बारा, १७ असार । चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
वर्षात्को समयमा आउने भलबाढी, कच्ची वनपथहरू बिग्रिने र रुख ढलेर बाटो अवरुद्ध हुने हुँदा पर्यटकको सुरक्षा र सहजतालाई मध्यनजर गर्दै निकुञ्ज प्रशासनले यो निर्णय लिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाम वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागिसमेत उपयुक्त समय भएकाले निकुञ्जभित्रको सफारी रोक्नु आवश्यक देखिएको हो ।
निकुञ्जले हरेक वर्ष मनसुन अवधिभर सफारी बन्द गर्ने परम्परा अपनाउँदै आएको छ र मौसमको अवस्था हेरेर आगामी दसैँको आसपासबाट पुनः सेवा सञ्चालन गरिने बताइएको छ ।
निकुञ्जभित्रको मुख्य क्षेत्र (कोर एरिया) मा जीप र पैदल सफारी रोकिए पनि पर्यटकका लागि राहतको कुरा के छ भने निकुञ्ज आसपासका सामुदायिक वनहरूमा हुने सफारी भने निरन्तर चालू रहनेछ ।
चितवनको सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न नाकाबाट व्यावसायिक रूपमा जीप सफारीका लागि निकुञ्ज प्रवेश गर्ने व्यवस्था मिलाइएको हुन्थ्यो, जहाँ देश-विदेशका पर्यटकहरू वन र वन्यजन्तुको अवलोकन गर्दै रमाउने गर्दथे ।
अर्को सूचना जारी नभएसम्मका लागि निकुञ्जभित्रका यी गतिविधि रोकिने भए पनि सामुदायिक वनका वैकल्पिक सफारीले पर्यटकलाई केही हदसम्म मनोरञ्जन प्रदान गरिरहने निकुञ्ज प्रशासनले जनाएको छ ।



