बारा, १८ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बिहीबार बिहान राष्ट्रिय बाल अधिकार परिषद्को पुल्चोकस्थित कार्यालयमा छड्के अनुगमन गरेकी छन्।
अनुगमनका क्रममा मन्त्री बादीले बालबालिकाको संरक्षण, बाल अधिकार प्रवर्द्धन र संस्थागत सुधारका विषयमा परिषद्लाई ९ बुँदे निर्देशन दिएकी छन्। पछिल्लो समय जोखिममा रहेका बालगृहबाट बालबालिकाको उद्धार तथा व्यवस्थापनमा परिषद्को कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले बालगृहका नाममा बालबालिका थप जोखिममा परिरहेकाले अर्को निर्णय नभएसम्म नयाँ बालगृह खोल्ने अनुमति रोक्न निर्देशन दिइन।
यसैगरी प्रशासनिक तथा वित्तीय पारदर्शिता कायम गर्न मन्त्री बादीले कर्मचारीहरूको कार्यविवरण र पदभार ग्रहण गरेदेखि असार १८ गतेसम्मका कार्यविवरण ७ दिनभित्र पेस गर्न निर्देशन दिइन। साथै, परिषद् स्थापना भएदेखि हालसम्म वैदेशिक विकास साझेदार एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त सहायता र सञ्चालित कार्यक्रमको पूर्ण विवरण ५ दिनभित्र बुझाउन निर्देशन दिइएको छ।
लामो समयदेखि औचित्यमाथि प्रश्न उठ्दै आएका परिषद्अन्तर्गतका उपसमितिहरूको बैठकका माइन्युट ३ दिनभित्र र चालु आर्थिक वर्षमा प्राप्त उजुरी तथा तिनको फर्छ्यौटको अवस्था खुल्ने विवरण ५ दिनभित्र मन्त्रीसमक्ष पेस गर्नुपर्नेछ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५९ बमोजिम स्थापना भएको यस परिषद्लाई उच्च जोखिममा रहेका बालगृहहरूको तत्काल अनुगमन गरी सुधारको कार्ययोजना समेत पेस गर्न मन्त्री बादीले निर्देशन निर्देशन दिइन।



