बारा, २१ असार । बाराको कलैया उपमहानगरपालिका–२१ मा एक १३ वर्षीया किशोरीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ।
गाउँकै केही युवाहरूको दुर्व्यवहार, कुटपिट तथा सामाजिक सञ्जालमार्फत गरिएको अपमानका कारण पीडित किशोरीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार घटना गत असार १५ गतेको हो, जहाँ किशोरी गाउँ नजिकैको सार्वजनिक स्थानमा आफ्ना दुई जना चिनजानका युवकहरूसँग कुराकानी गरिरहेकी थिइन्। सोही समयमा त्यहाँ पुगेका युवाहरूको समूहले उनीहरूमाथि गालीगलौज गर्दै दुर्व्यवहार र कुटपिट गरेका थिए।
अनुसन्धानका क्रममा उक्त टोलीले घटनास्थलको भिडियो खिचेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेको भेटिएको छ। यति मात्र नभई, केही व्यक्तिहरूले किशोरीको घरमै पुगेर अभिभावककै अगाडि मानसिक दबाब र तनाव सिर्जना गरेका थिए।
चौतर्फी अपमान र मानसिक तनाव सहन नसकी किशोरी भोलिपल्ट अर्थात् असार १६ गते आफ्नै घरमा मृत फेला परेकी थिइन्।
घटना पश्चात् मृतककी आमाले दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दर्ता गराउनुभएको थियो। उक्त उजुरी र प्रारम्भिक प्रमाणका आधारमा प्रहरीले पक्राउ परेका किशोरविरुद्ध जबरजस्ती करणी तथा आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
अदालतबाट म्याद थप गरी हाल आरोपीको बयान, डिजिटल प्रमाण तथा अन्य तथ्य संकलन गर्ने कार्य भइरहेको छ। प्रहरीले यस घटनाको सबै पक्षबाट सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिँदै भिडियो बनाउने र मानसिक दबाब दिने कार्यमा संलग्न अन्य व्यक्तिहरूलाई समेत चाँडै कानुनी दायरामा ल्याइने र दोषी देखिएका कसैलाई पनि नछाडिने प्रतिबद्धता जनाएको छ।



