नयाँ दिल्ली, २२ असार। भारतमा पछिल्लो समय एनर्जी ड्रिंक (Energy Drink) सम्बन्धी बहस तीव्र बन्दै गएको छ। स्वास्थ्य जोखिम, भ्रामक विज्ञापन र कानुनी अस्पष्टताका कारण भारत सरकारले यस क्षेत्रमा कडा कदम चाल्न थालेको छ।
भारतको खाद्य नियामक निकाय FSSAI (Food Safety and Standards Authority of India) ले हालै रेड बुल, स्टिङ, मोन्स्टर, क्याम्पा, पेप्सिको लगायतका ठूला पेय पदार्थ कम्पनीहरूलाई नोटिस जारी गरेको छ। नियामकका अनुसार ती कम्पनीहरूले “Energy Drink” नाम प्रयोग गर्दै “ऊर्जा बढाउँछ”, “ध्यान केन्द्रित गराउँछ” जस्ता दाबी गरेर उपभोक्तालाई भ्रमित बनाएको आरोप लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
FSSAI ले स्पष्ट पारेको छ कि भारतमा अहिलेसम्म “Energy Drink” को कुनै आधिकारिक परिभाषा वा मापदण्ड नै तय गरिएको छैन। यस्तो अवस्थामा उक्त नाम प्रयोग गरी स्वास्थ्यसम्बन्धी दाबी गर्नु नियमविपरीत मानिएको छ। नियामकले कम्पनीहरूलाई लेबल, विज्ञापन र दाबीहरू सुधार गर्न निर्देशन दिएको छ।
यसैबीच, महाराष्ट्र राज्य सरकारले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय तथा कलेजको ५०० मिटर वरिपरि एनर्जी ड्रिंक बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उच्च क्याफिन र चिनीको मात्रा भएका पेय पदार्थले विद्यार्थीहरूमा नकारात्मक असर पार्न सक्ने भन्दै यस्तो कदम चालिएको हो।
स्वास्थ्य विशेषज्ञहरूले पनि एनर्जी ड्रिंकको अत्यधिक सेवनले मुटुको धड्कन बढ्ने, उच्च रक्तचाप, चिन्ता तथा निद्रासम्बन्धी समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्। विशेषगरी किशोर–किशोरीहरूमा यसको प्रयोग बढ्दै गएकाले चिन्ता व्यक्त गरिएको छ।
अर्कोतर्फ, भारतका विभिन्न राज्यहरूमा गलत लेबलिङ र भ्रामक विज्ञापनविरुद्ध अनुगमन र कारबाही तीव्र पारिएको छ। राजस्थान लगायतका प्रदेशहरूले पनि खाद्य पदार्थसम्बन्धी नियम कडाइका साथ लागू गर्न थालेका छन्।
यस घटनाक्रमले भारतमा एनर्जी ड्रिंक उद्योगमाथि नयाँ दबाब सिर्जना गरेको छ। एकातिर बजार तीव्र रूपमा विस्तार भइरहेको छ भने अर्कोतिर स्वास्थ्य र उपभोक्ता सुरक्षाका सवालहरू झन् गम्भीर बन्दै गएका छन्।



