काठमाडौं, २७ असार। नेपाल सरकार गृह मन्त्रालयले आपतकालीन सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रयोगमा रहेको टोल–फ्री नम्बर ११४९ लाई परिवर्तन गरी १२३४ कायम गरेको जनाएको छ।
मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विपद् सम्बन्धी सूचना प्रवाह, समन्वय तथा उद्धार कार्यलाई छिटो र व्यवस्थित बनाउन नम्बर रुपान्तरण गरिएको हो। नयाँ नम्बर कार्यान्वयनमा आएसँगै देशभरका नागरिकले एउटै नम्बरमार्फत आपतकालीन सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार अब १२३४ नम्बर २४ सै घण्टा सञ्चालनमा रहनेछ। यसमा आएका फोनहरू सम्बन्धित स्थानअनुसार स्वचालित रूपमा रुटिङ हुनेछन्। काठमाडौँ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाट गरिएका फोनहरू राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (NEOC), सिंहदरबारमा जानेछन् भने अन्य जिल्लाबाट आएका कलहरू सम्बन्धित जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) मा पठाइने व्यवस्था मिलाइएको छ।
यस व्यवस्थाले आपतकालीन अवस्थामा सूचना संकलन, समन्वय र उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाउने मन्त्रालयको विश्वास छ। मन्त्रालयले विपद् सम्बन्धी सरकारी निर्देशनहरूको पालना गर्न र आवश्यक पर्दा नयाँ नम्बर १२३४ प्रयोग गर्न सबै नागरिकलाई अनुरोध गरेको छ।



