धनुषा, २७ असार। धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा एम्बुलेन्स र उपमेयर सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।
बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एम्बुलेन्स चालकसहित एम्बुलेन्समा सवार ५ जना तथा सरकारी गाडीमा सवार ३ जना गरी कुल ८ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि धनुषास्थित जानकी मेडिकल कलेज, रमदैया पठाइएको छ। सबै घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ।
एम्बुलेन्समा सवार घाइतेहरूमा चालक मिथिला नगरपालिका–१ बस्ने करिब ४९ वर्षीय दिपेन्द्र कुमार महतो, महोत्तरी गौशाला नगरपालिका–५ का ४५ वर्षीय बसन्त कुमार सिंह, सोही स्थानकी ४० वर्षीया रेणु कुमारी महतो, मिथिला नगरपालिका–९ की ६० वर्षीया राजु देवी र ६५ वर्षीय लक्ष्मी महतो रहेका छन्। राजु देवी पहिलेदेखि नै पक्षघात (प्यारालाइसिस) की बिरामी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै सरकारी गाडीमा सवार घाइतेहरूमा चालक धनुषाधाम नगरपालिका–८ का करिब ५० वर्षीय बद्री भुजेल, धनुषाधाम नगरपालिकाकी उपमेयर ६५ वर्षीया विद्दा भुजेल तथा सोही स्थानका ७० वर्षीय भीमराज भुजेल रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



