बारा, २८ असार। बाराको निजगढ नगरपालिका–१ स्थित धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा हिजो साँझ करिब ५ बजे भएको सवारी दुर्घटनामा एक वृद्धको ज्यान गएको छ।
सिन्धुलीबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ च ६८३० नम्बरको कुखुरा बोकेको पिकअप गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा गाडी अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी निजगढ नगरपालिका–७ योजनाटोल निवासी करिब ८५ वर्षीय जयबहादुर पुलामी मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयबासी तथा प्रहरी टोली घटनास्थलमा पुगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।



