Monday, July 13, 2026

गणेश नेपाली प्रकरण: सरकारसँग ९ बुँदे सहमतिसँगै छानबिन र राहत घोषणा

काठमाडौं, २८ असार। वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। सहमतिसँगै पीडित परिवारले उठाएका राहत, न्याय र छानबिनसम्बन्धी मागहरू सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।

सहमतिअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउने उल्लेख गरिएको छ।

त्यस्तै, गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमति भएको छ।

घटनाका दिन घटनास्थलमा खटिएका काठमाडौं महानगर प्रहरी बलका कर्मचारीलाई छानबिन प्रतिवेदनका आधारमा आवश्यक कारबाही हुने गरी हाललाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने सहमति पनि भएको छ।

पीडित परिवारलाई राहतस्वरूप काठमाडौं महानगरपालिकाले उपयुक्त आर्थिक सहयोग उपलब्ध गराउने, मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने तथा छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

यस्तै, मृतकको अन्त्येष्टि, काजकिरिया, आफन्तको यातायात तथा काठमाडौं बसाइँका क्रममा लाग्ने सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने सहमति भएको छ। मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत गरिने उल्लेख छ।

सहमतिपत्रमा नेपाल सरकार तथा स्थानीय तहका तर्फबाट जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाका प्रतिनिधिले तथा पीडित परिवार र वार्ता समितिका सदस्यहरूले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर