बारा, २९ असार। बाराको कलैया उपमहानगरपालिका–११ घोघरिया स्थित एक पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवान आईतबार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारामा ल्याइएको थियो।
अस्पतालमा उपचारको क्रममा साँझ सवा ७ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो। साथै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको कमाण्डमा SOCO सहितको मुचुल्का टोली पनि खटिएको छ।
हाल मृतक बालिकाको शव प्रादेशिक अस्पताल कलैयामै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



